भुटानको शिंताफू हिमताल फुटेर आएको आकस्मिक बाढीले गासा जिल्लाको छाछु तातोपानी क्षेत्रका पूर्वाधारमा क्षति पुर्याएको छ भने पुनाखा–गासा राजमार्ग अवरुद्ध भएको छ। अक्टोबर २९ को साँझ आएको यो बाढी मो छू नदीको जलाधार हुँदै बगेको थियो।
भुटानी सञ्चारमाध्यमका अनुसार समयमै प्रभावित क्षेत्र खाली गराइएका कारण मानवीय क्षति भएको छैन। तर, रात्रिकालीन बाढी र तीव्र बहावका कारण दुईवटा बेली ब्रिज बगाएको आशङ्का गरिएको छ भने क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
भुटानबाट बगेको बाढीका कारण भारतको तल्लो तटीय क्षेत्रमा पनि उच्च जोखिम सिर्जना भएको छ। सङ्कोश नदीमा जलस्तर बढेपछि पश्चिम बंगालको अलिपुरद्वारबाट १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। साथै, जलपाईगुडी र असमको धुब्री जिल्लामा समेत विशेष सतर्कता अपनाउँदै उद्धार टोली परिचालन गरिएको छ।






