
काठमाडौं । शिक्षक–कर्मचारीहरुले काठमाडौं केन्द्रित आन्दोलन आज(शुक्रबार) २४ औैं दिनपनि जारी राखेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भइरहेको हो ।
आन्दोलनरत शिक्षकहरूलाई अबको तीनदिन भित्र विद्यालय फर्किने वातावरण बनाउन सर्वोच्च अदालतले आदेश जारी गरे पनि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकको लडाइँ जारी रहने प्रतिक्रिया दिएकाछन् । शुक्रबारको चर्को घाममा पनि शिक्षकहरुले सडकमै नाचगान गरेर सांकेतिक प्रदर्शन गरेका थिए । उनीहरुले दबाब मूलक गीतहरु बजाएर नाचगान गरेका हुन् ।
शिक्षकहरुले अघि सारेका माग एवं यसअघि सरकारसँग भएको सहमति अनुसार शिक्षकको ग्रेड मिलान, सञ्चिति बिदा, निवृत्ति भरण, मर्यादाक्रम, पद समायोजन जस्ता विषयहरूमा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएकाछन् । शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।
