spot_img
spot_img

राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को परिणाम परीक्षा सकिएको एक महिना नबित्तै प्रकाशित गर्यो । यो समय कक्षा १० को परीक्षाको इतिहासमा सबभन्दा छोटो समय हो । यसले के प्रमाणीत गर्यो भने इच्छाशक्ति भयो भने नसकिने होइन रहेछ ।
बैशाख २८ गते सार्वजनिक भएको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी वर्गिकृत(ग्रेडेड) भएका छन् । यो नतिजा गत वर्षको भन्दा ४.१७ प्रतिशतले बढि हो । गएको दुई वर्षको नतिजा हेर्दा वर्गिकृत विद्यार्थीको संख्या २०८० मा ४७.८६ र २०८१ मा ६१.८१ प्रतिशत थियो । गत वर्ष भएको वृद्धि अलि अश्वभाविक जस्तो देखिन्थ्यो भने यस वर्षको सुधार अपेक्षाकृत नै देखिन्छ ।
समग्र परिणाम हेर्दा २०८० मा ३.६० देखी ४ जिपिए प्राप्त गर्ने विद्यार्थी संख्या ३१२०९ थियो भने २०८१ मा यो संख्या उल्लेख्य रुपमा बढेर ४८१७७ पुग्यो । यसवर्ष भने यो संख्यामा मात्र २१५ ले वृद्धि हुँदै ४८३९२ पुगेको देखिन्छ । २०८० मा ५२.१४ प्रतिशत विद्यार्थी अवर्गिकृत (नन ग्रेडेड) थिए भने २०८१ मा यो प्रतिशत घटेर ३८.१९ मा झर्यो । यस वर्ष अवर्गिकृत हुने विद्यार्थीको प्रतिशत ४.१७ ले घटेर ३४.०२ मा झरेको छ । यसरी हेर्दा विद्यालय शिक्षाको गुणस्तर क्रमशः सुधार हुँदै गएको देखिन्छ ।

यो लेखमा नतिजाको साङ्गो पाङ्गो विश्लेषण गरिएको छैन । खासगरि उत्तरपुस्तिका परीक्षण प्रकृयामा सरकारले गरेको परिवर्तन र त्यसले पारेको प्रभाव बारे पंक्तिकारले परीक्षाको समय र नतिजा प्रकाशित भइसके पछि केहि शिक्षक र प्रधानाध्यापकसँग गरेको छलफलका आधारमा यो लेख तयार भएको हो ।

धेरै पटक केन्द्राध्यक्ष भइ सकेका र वर्षौ देखि उत्तरपुस्तिका परीक्षण गर्दै आएका एक जना अनुभवी प्रधानाध्यापकको भनाइ जस्ताको तस्तैः“परीक्षा समापन भएको एक महिना भित्रै नतिजा प्रकाशन भएकोले विद्यार्थीले लामो समय नतिजा कुर्नुपर्ने बाध्यात्मक अवस्था यसले अन्त्य गर्यो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएकोले सुरुमा शिक्षकहरुमा परीक्षा नियन्त्रण कार्यालयको निर्देशनमा स्पष्ट बुझाइ भएन र केहि अन्योलता छाएको थियो ।”

उहाँ थप्नुहुन्छः “खासगरि पहिलो पटक उत्तरपुस्तिका परीक्षण गर्ने साथीहरुमा मार्जिनल अङ्क बारेको बुझाइमा एक रुपता नभएकोले नतिजामा केही प्रभाव पार्यो कि भन्ने पनि लाग्छ । पछि अनुभवी शिक्षकको सहजीकरणमा कतिपय केन्द्रमा त्यो समस्या हल भएको सुनेँ तर देशै भरीको यो समस्याले कतै न कतै प्रभाव अवश्य पारेको छ कि भन्ने शंका अझै छ ।”

“यो पटक सम्बन्धित केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्थाले शिक्षकलाई अवसर र चुनौती दुवै थियो । तसर्थ शिक्षकले उत्तरपुस्तिका परीक्षण गर्दा एकदम सावधानी अपनाएको महसुस गरेको छु । नतिजा प्रकाशन पछि शिक्षक माथी लाग्न सक्ने लान्छनामा शिक्षकहरु अत्यन्तै सजग हुनुहुन्थ्यो ।”

“विद्यार्थीको उत्तरपुस्तिकानजिकको अर्को विद्यालयको शिक्षकले परीक्षण गर्दा अलि कठोर र पुर्वाग्रही बन्न सक्ने आशंका विद्यालय र अभिभावकले सुरुमा गरेको पाइन्थ्यो तर अहिलेको नतिजाले त्यो सबै खण्डिकृत गर्यो । शिक्षकहरुले पूर्णत निष्पक्ष र विशेष सावधानीका साथ उत्तरपुस्तिका परीक्षण गरेको कुरामा सन्देह रहेन ।”

उपत्यकाको एक विद्यालयका प्रधानाध्यापक भन्नुहुन्छः “उत्तरपुस्तिका परीक्षण माध्यमिक तहका विषय शिक्षकले मात्र गर्ने व्यवस्था मिलाइयो । यसवर्ष उत्तरपुस्तिका परीक्षण राम्रो हुँदैन र धेरै विद्यार्थी उत्तिर्ण हुने आशंका धेरैको थियो । तर हामी शिक्षकमा हिजो पनि इमान, जमान र नैतिक जिम्मेवारी थियो र त्यो आज पनि छ । जसले जे सोचे पनि हामी आफ्नो मर्यादाको सिमा नाग्दैनौं । परीक्षाको परिणामले पनि यो कुराको पुष्टि गरेको छ ।”

उहाँ थप्नुहुन्छ “हामीले केहि महिना अगाडिदेखि विद्यार्थीलाई विद्यालयमा अतिरिक्त कक्षा संचालन गरेका थियौँ । त्यसैले शिक्षकको लगनशीलता र विद्यार्थीको परिश्रमले नतिजामा सुधार आएको हो ।”

नतिजामा आएको सुधारका सम्बन्धमा प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको विचार पनि प्रधानाध्यापकसँग मिल्दो छ । कोइराला भन्नुहुन्छः धेरै स्कुलले तीन महिना विद्यार्थीलाई खाने बस्ने व्यवस्था सहित स्कुलमै राखेर पढाएका थिए, नमुना प्रश्नपत्रको अभ्यास गराएका थिए । त्यसैको कारण नतिजामा सुधार आयो ।

उत्तरपुस्तिका परीक्षणमा भाग लिएका विज्ञान शिक्षक सकुन्द अधिकारी सामाजिक सञ्जालमा लेख्छन्ः “पेशाकर्मीको नाताले भन्छु जस र अपजस दुवै लिनुपर्छ । उत्तरपुस्तिका परीक्षण गरिरहँदा मनमा कता कता डर थियो यो परिवर्तनले अस्वभाविक नतीजा आउला कि भनेर । तर २९ दिने आन्दोलनको स्वरुप र यो नतिजाले यति भन्न सकिन्छ कि समग्रतामा शिक्षकले आफ्नो इमान चैँ जोगाउँदा रहेछन् ।”

एसईईको उत्तरपुस्तिका परीक्षण प्रकृयामा आएको परिवर्तन र प्रकाशित नतिजाले के प्रमाणीत गर्छ भने जिम्मेवारी दिने र विश्वास गर्ने हो भने नेपाली शिक्षक केहिमा पनि कमजोर छैनन् । छोटो समयमा भएको नतीजा प्रकाशन र सामान्य नै भए पनि परिणाममा आएको सुधारको जस सबैभन्दा बढि प्रधानाध्यापक, शिक्षक र विद्यार्थीलाई जान्छ ।

धेरैकोे शंका, अविश्वास र आलोचनाको बावजुद सरकारले उत्तरपुस्तिका परिक्षण गर्ने परम्परागत पद्धतिलाई तोड्दै शिक्षकलाई पूर्णत विश्वास गरेर जिम्मेवारी दिने ऐतिहासिक निर्णय कार्यन्वयन गरेकोले यति छोटो समयमा नतिजा प्रकाशन हुन सकेको हो । सरकारलाई पनि धन्यवाद दिनै पर्छ ।

यो कार्य धेरै वर्ष अगाडि गर्न सकिन्थ्यो । बिडम्बना नेपालको कर्मचारीतन्त्र र राजनीतिक वृतले शिक्षकलाई सँधै अविश्वास र शङ्काको दृष्टिले हेर्यो । उदाहरणको लागि केहि वर्ष पहिलेसम्म निर्वाचनमा शिक्षक खटाउन हिच्किच्याउँथ्यो सरकार । अहिले पनि मतदान अधिकृत दिन कन्चुस्याँइ गर्छ । तर अनुभवले भन्छ सबभन्दा कठीन र अप्ठ्यारो मतदान केन्द्रमा शिक्षक खटिएका छन् र सफलतापूर्वक निवार्चन सम्पन्न गराएका छन् ।

एसईईको उत्तरपुस्तिका परीक्षण प्रकृया र त्यसको कारण छोटो समयमा नतीजा प्रकाशन गर्न सकेको अवस्थाले अन्य परीक्षा र समग्र शिक्षा क्षेत्रमा अवश्य पनि केही प्रभाव पर्ने देखिछ ।

यसभन्दा अगाडि नेपालका कयौँ जिल्लाका शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण गर्ने अवसर प्राप्त गरेका थिएनन् । दुर्गमका नाममा परीक्षा नियन्त्रण कार्यालयले ति जिल्लाहरुमा उत्तरपुस्तिका परीक्षण केन्द्र राख्दैन थियो । तर यसपटक यो विभेद हट्यो ।

विगतमा परीक्षण केन्द्रमा पहुँच हुनेहरु माध्यमिक तहका विषयगत शिक्षक नहुँदा पनि उत्तरपुस्तिका परीक्षण गर्ने अवसर पाएको गुनासो सुनिन्थ्यो । तर यसपटक केन्द्राध्यक्षले पहुँचको परम्परालाई पूर्णत निषेध गरेको पाइयो । माध्यमिक शिक्षकले आफूले पढाउने विषयको मात्र उत्तरपुस्तिका परीक्षण गरे ।

उत्तरपुस्तिका परीक्षण गरिरहँदा शिक्षकमा जुन आशंका, दबाव र भय थियो त्यो पनि यो नतिजाले दूर गरिदिएको छ । कहिले कहिले अरुले धेरै कुरा काट्दा शिक्षकमा आफ्नै योग्यता, क्षमता, निष्पक्षता र समभावप्रतिको विश्वास पनि डगमगाउँथ्यो । तर यो परीणामले अपवाद बाहेक सकुन्द अधिकारीले भने झैँ शिक्षक इमानमा रहने पेशाकर्मी हो भन्ने प्रमाणीत गरेको छ ।

विगतमा आफ्ना सन्तानको परीणामबारे अभिभावक त्यति विश्वस्थ र आश्वस्थ सुनिदैन थिए । अझ असफल हुने सन्तानले मैंले त राम्रै लेखेको थिएँ उत्तरपुस्तिका नै राम्रोसँग नजाँचेर म फेल भएँ भनिदिन्थ्यो र अभिभावक त्यहि पत्याउन बाध्य हुन्थे । यस वर्ष चिनेको नजिकैको शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेको कारण अहिलेको प्रकृयाले यो धारणालाई चिरेको हुनुपर्छ ।

एसईईको उत्तरपुस्तिका परीक्षण प्रकृयाबाट कक्षा १२ को परीक्षा संचालन गर्ने राष्ट्रिय परीक्षा वोर्ड र विश्वविद्यालयहरुले पनि पाठ सिक्नु जरुरी छ । जसले पढाउन सक्छ, उस्ले उत्तरपुस्तिका परीक्षण गर्न पनि सक्छ । उपत्यका बाहिरका परीक्षा केन्द्रहरुमा परीक्षा सकिएको एक हप्ता भित्र उत्तरपुस्तिका परीक्षण गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाउँदा कक्षा १२ र विश्वविद्यालय तहको पनि परीक्षाफल समयमा प्रकाशन गर्न सकिन्छ ।

यो वर्ष उत्तरपुस्तिका परीक्षण गर्ने प्रकृया मात्र फेरिएको हो । नेपालको परीक्षा प्रणालीमा आमुल सुधारको आवश्यकता छ । लिखित परिक्षा विश्वमा नै लिने गरिन्छ । तर कति समय, कति प्रतिशत, कस्ता प्रश्न आदि विश्वका उच्चतम शैक्षिक उपलब्धि हासिल गर्ने देशहरुबाट सिक्न जरुरी छ ।

शिक्षकलाई विश्वास गर्दा आएको यो सुखद परिणामबाट सरकारले पनि पाठ सिक्नुपर्छ । अहिले सरकार शिक्षकका पेशागत सङ्गठनलाई प्रतिवन्ध लगाउँदा शिक्षामा सुधार हुन्छ भन्ने सोचमा देखिन्छ । तर यो सत्य होइन । शिक्षकको पेशागत सङ्गठन विश्वका सबैजसो देशमा छन् । यो पंक्तिकार प्रधानाध्यापक हुँदा शैक्षिक नेतृत्व सम्बन्धि पहिलो तालिम क्यानेडियन शिक्षक संगठनबाट लिएको थियो ।
शिक्षकको विचार पनि हुन्छ, विचारका दृष्टिकोणले उ कुनै राजनीतिक दलसँग नजिक वा टाढा पनि देखिन सक्छ । तर उसको मुल्याङ्कन यसका आधारमा नभएर उसले १० देखि ४ बजे सम्म गर्ने कर्मका आधारमा गरिनुपर्छ । यो बारेमा सरकारले प्रष्टसँग भन्नुपर्छ कि तिमी कुन शिक्षक संस्थाको सदस्य हो मलाइ सरोकार छैन । म तिम्रो दैनिक कर्मको अनुगमन तथा नियमन गर्छु र तिमीले पढाउने विषयको नतिजाप्रति उत्तरदायी बनाउँछु । शिक्षकले पनि यसमा आपत्ति जनाउनु हुँदैन ।
सरकारले बुझ्नुपर्छ कि एसईई नतीजा समयमा प्रकाशन गर्ने यो सफलता शिक्षकका पेशागत संस्था खारेज गर्ने धम्कीका कारण आएको होइन । शिक्षकको इमान्दार सहयोगका कारण हो ।
एसईई परीक्षाबारे बढि हल्ला गर्ने, फलामको ढोका आदि भाष्यका कारण पनि विद्यार्थी डराउने, नर्भस हुने र जानेको कुरा पनि सीमित समयमा व्यक्त गर्न नसक्ने समस्या देखिएका छन् । अब एसईई परिक्षालाई विद्यालयको एक नियमित परीक्षा बनाउँदै सहज वातावरणमा परीक्षा लिनुपर्छ ।

विश्वमा शैक्षिक गुणस्तरको सूचिमा अगाडि रहेको देश फिनल्याण्डमा परियोजना कार्य गर्ने, प्रतिवेदन लेख्ने, प्रस्तुती गर्ने काममा जोड दिइन्छ र परीक्षामा पनि त्यस्तै प्रश्नहरु सोधिन्छ । जस्ले गर्दा आफूले अनुभव गरेका विषय विद्यार्थीले सहजै अभिव्यक्त गर्छन् ।

गएको केही वर्षदेखि प्रधानाध्यापक र शिक्षक साथीहरुसँग छलफल गर्दा यो पंक्तिकारले महसुस गरेको छ कि प्रधानाध्यापक र शिक्षकमा पठन संस्कृति बढाउने,आफू पहिले परिवर्तन हुने, विद्यालय रुपान्तरण गर्ने र परिणाममा सुधार ल्याउने हुटहुटी छ । शिक्षकलाई सहयोग गर्न अपवादमा बाहेक स्थानिय निकाय र विद्यालय व्यवस्थापन समिति तत्पर छन् । संघिय सरकार पनि विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिमा सजग छ भन्ने कुरा यस आर्थिक वर्षको नीति तथा कार्यक्रमले पनि देखाउँछ ।

अन्तमा शिक्षकको इमान्दारिताप्रति यो पंक्तिकार प्रश्न उठाउँदैन । तर तपाइंहरुले ठण्डा दिमागले सोच्नुपर्छ कि पढाउने तपाइं , प्रश्न निर्माण गर्ने तपाइं, परीक्षा सञ्चालन गर्ने तपाइं र उत्तरपुस्तिका परीक्षण गर्ने पनि तपाइं अनि नतीजाको अपजस अरुलाई, यो भने हुँदैन । जिम्मेवारहरु अरु पनि छन् तर तराजु तपाइंतिर बढि ढल्कन्छ । यो सन्दर्भलाई विचार गर्दै सकारात्मक सोचका साथ आफ्नो कर्ममा हिजो भन्दा दत्तचित्तका साथ लाग्नुहुनेछ र आउँदो वर्षको परिणाम पनि तपाइंकै कर्मका कारण यो वर्षको भन्दा सुधार हुनेछ भन्ने विश्वास जागेको छ ।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू