spot_img

आठ वर्षपछि चीन भ्रमणमा ट्रम्प, सोयाबिन, व्यापार र ‘रेयर अर्थ मिनरल्स’मा सम्झौता हुन सक्ने

spot_img

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार राति चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी मे १३ देखि १५ सम्म चीन भ्रमणमा रहनेछन् । यस क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

दुई नेताबीच व्यापार, कर, ‘रेयर अर्थ मिनरल्स’, अमेरिकी सोयाबिन खरिद तथा अन्य रणनीतिक विषयमा छलफल हुने सम्भावना रहेको बताइएको छ । ट्रम्प आठ वर्षपछि बेइजिङ भ्रमणमा गएका हुन् । 

यसअघि उनी सन् २०१७ मा राष्ट्रपतिका रूपमा चीन पुगेका थिए । त्यसबेला बेइजिङमा उनको भव्य स्वागत गरिएको थियो । विभिन्न व्यापारिक सम्झौताहरूको घोषणा भएको थियो ।

इरान युद्धका कारण विश्वव्यापी तनाव बढिरहेका बेला विश्वका दुई ठूला शक्तिबीचको यो बैठकलाई विशेष महत्वका साथ हेरिएको छ । विज्ञहरूका अनुसार यसपटकको वातावरण पहिलेभन्दा बढी जटिल बनेको छ । अमेरिका र चीनबीच प्रविधि, व्यापार तथा ताइवानको मुद्दालाई लिएर तीव्र मतभेद छ । 

ह्वाइट हाउसका अनुसार चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङले ट्रम्पको सम्मानमा भव्य ‘स्टेट डिनर’ आयोजना गर्नेछन् । चीनमा यस्ता कार्यक्रमलाई उच्च कूटनीतिक सम्मानका रूपमा लिइन्छ । यस्ता समारोह सामान्यतः बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’मा आयोजना गरिन्छ ।

विश्लेषकहरूका अनुसार यो ‘स्टेट डिनर’मार्फत चीनले अमेरिकासँगको सम्बन्धलाई रणनीतिक रूपमा महत्व दिइरहेको सन्देश दिन खोजेको देखिन्छ ।

इरानबाट तेल खरिदको विषयमा अमेरिका र चीनबीच तनाव कायमै छ । ट्रम्प प्रशासनले चीनले ठूलो परिमाणमा इरानी तेल खरिद गरेर तेहरानलाई आर्थिक सहयोग गरिरहेको आरोप लगाउँदै आएको छ । चीनले भने यसलाई आफ्नो ऊर्जा आवश्यकतासँग सम्बन्धित विषय भएको बताउँदै आएको छ ।

अमेरिका तथा पश्चिमी देशहरूको प्रतिबन्धका बाबजुद चीनले लामो समयदेखि इरानबाट सहुलियत दरमा तेल खरिद गर्दै आएको छ । प्रतिबन्धका कारण इरानले आफ्नो तेल छुटमा बेच्नुपर्ने अवस्था बनेको छ, जसको लाभ चीनका निजी रिफाइनरीहरूले उठाइरहेका छन् ।

अमेरिका चीनले इरानी तेल खरिद कम गरोस् भन्ने चाहन्छ, ताकि तेहरानको आम्दानी घटोस् र उसमाथि थप दबाब सिर्जना होस् ।

ट्रम्प–चिनफिङ वार्ताका प्रमुख मुद्दामा भन्सार कर विवाद, ताइवान र हतियार बिक्री, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सोयाबिन, ‘रेयर अर्थ मिनरल्स’ र कृषि व्यापार समावेश रहेका छन् ।

अमेरिका–चीन व्यापार युद्ध अझै पनि दुवै देशबीचको प्रमुख विवादको विषय बनेको छ । दुवै पक्षले व्यापारिक तनाव कम गर्ने विषयमा छलफल गर्न सक्ने अनुमान गरिएको छ ।
ट्रम्पले सीसँग ११ अर्ब डलर बराबरको अमेरिकी हतियार प्याकेजबारे पनि कुरा गर्ने बताएका छन् । चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्ने भएकाले अमेरिकी हतियार बिक्रीको निरन्तर विरोध गर्दै आएको छ ।

इलेक्ट्रिक सवारी, चिप्स तथा रक्षा उद्योगका लागि अत्यन्त महत्वपूर्ण मानिने ‘रेयर अर्थ मिनरल्स’को चीन विश्वकै सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । अमेरिका यस क्षेत्रमा चीनमाथिको निर्भरता घटाउने रणनीतिमा लागेको छ ।

चीन अमेरिकी किसानहरूका लागि ठूलो कृषि बजार हो । ट्रम्प प्रशासन अमेरिकी कृषि निर्यात बढाउने प्रयासमा छ ।

ट्रम्पको चीन भ्रमणलाई अमेरिकी किसानहरूले पनि चासोपूर्वक हेरिरहेका छन् । व्यापार, युद्ध र घट्दो सोयाबिन निर्यातका कारण चिन्तित किसानहरू चीनसँग बलियो व्यापार सम्झौता होस् भन्ने चाहिरहेका छन् ।

सन् २०२२ मा चीनले अमेरिकाबाट करिब तीन करोड मेट्रिक टन सोयाबिन खरिद गरेको थियो । ट्रम्पको पहिलो कार्यकालअघि यो संख्या ३.६ करोड मेट्रिक टनसम्म पुगेको थियो ।

ह्वाइट हाउसले यस वर्ष चीनले २.५ करोड मेट्रिक टन अमेरिकी सोयाबिन खरिद गर्न सक्ने दाबी गरेको छ । तर, अमेरिकी किसानहरूले लिखित व्यापार सम्झौताको माग गरिरहेका छन् । राेयटर्स

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू