इन्डोनेसियामा शनिबार बिहान शक्तिशाली भूकम्प गएको छ । ७.७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पसँगै विभिन्न क्षेत्रमा भागदौड र त्रासको स्थिति सिर्जना भएको थियो । भूकम्पमा परी हालसम्म दुईजनाको मृत्यु पुष्टि भएको अलजजिराले जनाएको छ । धेरै मानिस घाइते भएका जनाइएको छ ।
मुख्य भूकम्पपछि उक्त क्षेत्रमा ५.९, ५.६ र ६.१ म्याग्निच्युडका ठूला परकम्प पनि मापन गरिएको छ ।
भूकम्पपछि सुरुमा तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको थियो । तर, केही घण्टापछि उक्त चेतावनी हटाइयो । हाल मानिसलाई सुरक्षित स्थानमा रहन सुझाव दिइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा केही भवन भत्किएको र क्षति पुगेको देखिएको छ । स्थानीय समयानुसार बिहान ५ बजेभन्दा केहीअघि पूर्वी नुसा तेन्गाराको फ्लोरेस क्षेत्रमा भूकम्प गएको हो ।



