डा.नवराज रिजालद्वारा लिखित गीतिसंग्रह ‘देखेको छु तिमीलाई’ बुधबार एक समारोहका बीच लोकार्पण गरियो। काठमाडौँ बागबजारस्थित प्राज्ञिक बुक्स अगाडी उक्त पुस्तकको सडक विमोचन गरिएको हो।
अग्रज साहित्यकार दुर्गाप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा गीतकार डा.नवराजका गीतमा राष्ट्रिय भाव समेटिएको कुरा व्यक्त गर्दै सडक विमोचन अभियानका कोषाध्यक्ष तथा साहित्यकार राजाराम बर्तौलाले गीतले भूगोल र राष्ट्रिय समेटेको भाव बताउनुभयो। त्यसैगरी साहित्यकार प्रमोद प्रधान, डा.शैलेन्दुप्रकाश नेपाल र डा.छायादत्त न्याैपानेले गीतकार रिजालको कृतिमा प्रकृति संरक्षण र जीवन जगतका विभिन्न पक्ष समेटिएको कुरा उल्लेख गर्नुभयो।
गीतकार रिजालको कृति र जीवन वृतलाई प्रस्तुत गर्दै कवि तथा समालोचक तेजविलास अधिकारीले रिजालका गीतमा राष्ट्रिय भाव समेटिएको कुरा बताउनुभयो। कृति र कृतिकारका बारेमा बोल्दै अभियानका संयोजक बद्रीप्रसाद ढकालले सडक विमोचनको १७ औँ शृङ्खलामा आज विमोचित कृतिले देश बोलेको छ भन्नुभयो ।
कार्यक्रममा भाषा आयोगका सदस्य मातृका पोखरेल, डा पुष्करराज भट्ट, गीतकार वसन्तराज अज्ञात लगायत दुई दर्जन जति साहित्यकार तथा पत्रकारको उपस्थिती रहेको थियो ।



