काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता सुनिल केसीले श्रमिकतर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। मंगलबार उम्मेदवारी दिएका केसीले श्रमिकका समस्या र सरोकारलाई पार्टीको नीति निर्माणसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
वैदेशिक रोजगारीमा रहेका श्रमिकको सुरक्षा, अनौपचारिक क्षेत्रका कामदारको अधिकार र महिला श्रमिकका विशेष अधिकारलाई उनले आफ्ना प्रमुख एजेन्डामा राखेका छन्। साथै, सीप विकास र रोजगारीका अवसर विस्तारका विषयलाई पनि अघि बढाउने उनको प्रतिबद्धता छ।
केसीले श्रमिकको जीवनस्तर सुधारका लागि उचित पारिश्रमिक, सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल र रोजगारीको सुरक्षालाई प्राथमिकता दिएका छन्। श्रमिकको हकहित र सम्मानका सवाललाई नीति निर्माणको तहसम्म पुर्याउन आफ्नो भूमिका रहने उनले बताएका छन्।
“श्रमिकको सम्मान, श्रमिकको अधिकार—हाम्रो साझा अभियान” नाराका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएका केसीले श्रमिक समुदायको साथ र सहयोग मागेका छन्। उनले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो पक्षमा मतदान गर्नसमेत अपिल गरेका छन्।



