स्थापित साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा आयोजित साहित्यिक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । हङकङ साहित्यिक साझा श्रृंखलाको १५६औँ भागअन्तर्गत आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको हो ।
संयोजक जुनू रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार राज कुमार राईले संग्रहमाथि टिप्पणी गर्नुभएको थियो ।
कविता संग्रह जिर्मामा १०१ वटा कविता समावेश छन् । रचनाकारका अनुसार ‘जिर्मा’ केवल एउटा कविता मात्र नभई सभ्यता, संस्कार र द्वन्द्वको संगम हो । एकातिर मद्यपानलाई निषेध गर्ने सामाजिक मान्यता रहेको छ भने अर्कोतिर जन्मदेखि मृत्युसम्मका संस्कारमा त्यसैको पवित्रता खोजिने परम्परा पनि विद्यमान रहेको सन्देश संग्रहले प्रस्तुत गरेको उहाँको भनाइ छ ।
कोदोको सानो दानाबाट तयार हुने जिर्मा कसैका लागि ‘कु-अन्न’ हुन सक्छ भने कसैका लागि जीवन र संस्कृतिको अभिन्न अंग रहेको भाव कवितामार्फत अभिव्यक्त गरिएको छ । कविले कोदोको दानाभित्र एउटा आदिम सपना लुकेको उल्लेख गर्दै जिर्मालाई गङ्गाजलसरह पवित्र र आदिम सत्यका रूपमा चित्रण गर्नुभएको छ ।
संग्रहमा सहअस्तित्व, सामाजिक विविधता, सांस्कृतिक पहिचान, परम्परा तथा समकालीन समाजका विभिन्न विषयलाई समेटिएको छ । साझा फूलबारीमा सबै फूलको सहअस्तित्व स्वीकार गर्नुपर्ने सन्देशसमेत कविताहरूले बोकेका छन् ।
हङकङमा सार्वजनिक गरिएको जिर्मा कविता संग्रहले नेपाली साहित्यमा मौलिक संस्कृति, पहिचान र जीवनदर्शनलाई नयाँ ढंगले प्रस्तुत गरेको सहभागीहरूले बताएका छन् ।



